दाङ, ३० पुस । दाङको तुलसीपुरमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्षमा रहेका दंगीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो।
मृतकका बुबा कुबेर चौधरीका अनुसार प्रहरीले छोरालाई पक्राउ गरी मुद्दा चलाएको विषयमा ढिलोगरी मात्र जानकारी दिएको थियो।
छोराको मृत्यु भएपछि मात्र खबर गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । प्रहरीका अनुसार बुधबार बिहान करिब ९ बजेको समयमा चौधरी एक्कासी बेहोस भएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा बिहान करिब १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले चिकित्सकको भनाइ उद्धृत गर्दै चौधरीको मृत्यु हृदयघातका कारण भएको जानकारी दिए।
प्रहरीका अनुसार मृतक चौधरीलाई गत मंसिर २८ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट ५ दशमलव १० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। पोस्टमार्टम पश्चात शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस