उमा भण्डारी ,७ माघ । प्रतिनिधिसभा सदस्य २०८२ को चुनावी सरगमी सुरूभएको छ । तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
तीनवटै निर्वाचन क्षेत्रमा गरी ६२ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीचको चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ भने चुनावी माहोल पनि त्यसै गरि सुरु भएको छ ।
उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डासहित चुनावी मैदानमा प्रतिस्पर्धामा देखिएका छन् । जिल्लामा संख्यात्मक रूपमा हेर्दा उम्मेदवारको भीड देखिए पनि लैङ्गिक प्रतिनिधित्व भने अत्यन्त कमजोर रहेको छ ।
दाङका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा १४ जनाले मनोनयन दर्ता गराएका छन् । ती मध्ये महिलाको सँख्या शुन्य छ । यस्तै, क्षेत्र नं.२ मा २३ जनाले मनोनयन दर्ता गराउँदा २ जना मात्रै महिला उम्मेदवार छन् । भने क्षेत्र नं. ३ बाट २५ जनाको मनोनयन दर्ता हुँदा महिला उम्मेदवार एकजना मात्रै देखिन्छन् ।
कुल ६२ जना उम्मेदवारहरु रहँदा तीनजना अर्थात महिला उम्मेदवारको सँख्या ८ प्रतिशत मात्रै देखिएको छ । महिला उम्मेदवारको न्यून उपस्थितिले संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी राजनीति कमजोर देखाएको छ ।
राजनीतिक दलहरूले महिला सहभागिताबारे सार्वजनिक रूपमा प्रतिबद्धता जनाए पनि प्रत्यक्ष निर्वाचनमा टिकट वितरण गर्दा ती प्रतिबद्धता व्यवहारमा देखाएका छैनान । चुनाव जित्ने सम्भावना, संगठनभित्रको पहुँच र आर्थिक स्रोतलाई प्राथमिकता दिँदा महिलाहरू पछाडि पर्ने गरेको देखिन्छ।
दाङका प्रमुख राजनीतिक दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा महिला उम्मेदवार दिएका छैनान ।
काँग्रेसबाट दाङ निर्वाचन क्षेत्र नं. १ मा योगेन्द्र चौधरी, क्षेत्र नं. २ मा किरण किशोर घिमिरे र क्षेत्र नं. ३ मा दिपक गिरी उम्मेदवार बनेका छन्।
नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. १ रेवतीरमण शर्मा, क्षेत्र नं. २, शंकर पोखेल र क्षेत्र नं. ३ मा घनश्याम पाण्डे चुनावी मैदानमा छन्।
नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा मेटमणी चौधरी, क्षेत्र नं. २ मा निर्मल आचार्य र क्षेत्र नं ३ मा धनबहादुर मास्कीलाई उम्मेद्वार बनाएको छ ।
नेकपा माओवादीले क्षेत्र न.१ मा प्रकाश शाह र दाङ–३ मा बलबहादुर ओलीलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङ १ मा देवराज पाठक , दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुबेदी उम्मेदवार बनाएको छ । यी प्रमुख दलका उम्मेदवारमध्ये एक जना पनि महिला छैनन्।
महिला उम्मेदवारहरू प्रायः स्वतन्त्र वा साना दलबाट मात्रै देखिनु राजनीतिक संरचनाको वास्तविक तस्वीर हो। दाङ–२ मा स्वतन्त्र उम्मेदवार विष्णु कुमारी भुसाल र कल्पना लामा तथा दाङ–३ मा राष्ट्रिय जनमोर्चाकी कमला जीसी , जनता समाजवादीकि शोभा डाँगी, आम जनता पार्टीकि माण्डबी नेपाली गरी पाँच जना महिला उम्मेदवार हुन्।
उनीहरूको उम्मेदवारीले महिलाको राजनीतिक उपस्थितिलाई संकेत गरे पनि संख्या र दलगत समर्थनका हिसाबले त्यो पर्याप्त छैन। शुन्य जस्तै हो ।
महिलालाई उम्मेदवार बनाउने मात्रै होइन, चुनावी खर्च, संगठनको साथ, प्रचार–प्रसारमा समान अवसर र नेतृत्व विकासका कार्यक्रम आवश्यक हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
सामाजिक र पारिवारिक जिम्मेवारी, आर्थिक निर्भरता र राजनीतिक संस्कृतिका कारण महिला अझै पनि प्रत्यक्ष चुनावबाट पछि पर्दै आएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस