काठमाडौँ, ९ माघ । पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी पश्चिमी नेपालमा मौसम बदली भई मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। विभागका मौसमविद् डेभिट ढकालले शुक्रवार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु हुने जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा सुरु हुने सम्भावना छ।
शुक्रबार रातिदेखि देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमसम्म हिमपात हुन सक्ने विभागले जनाएको छ। पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने मौसमविद् ढकालले बताए।
यसका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित असिना पर्ने सम्भावना पनि रहेको छ। शनिबार मौसममा केही सुधार देखिए पनि बदलीको असर देशभर महसुस हुने र चिसो बढ्ने विभागको अनुमान छ।
मौसम बदलीका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस