after_navbar

घाइते रमाको उपचारका क्रममा मृत्यु


माघ १०, २०८२


दाङ, ९ माघ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरकी ३३ वर्षीया रमा चौधरी रहेकी छन्।

ad

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घाइते चौधरीको आज अपराह्न सवा ४ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा चौधरीको टाउको, मुख, हात र खुट्टामा गम्भीर चोट लागेको थियो।

घाइते चौधरीलाई सुरुमा राप्ती लाइफ केयर अस्पताल, मोतिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही रिफर गरिएको थियो।

प्रहरीका अनुसार आज शुक्रबार दिउँसो करिब पौने २ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलामा पैदल यात्री चौधरीलाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–४ बनहरीका २३ वर्षीय अरुण चौधरी र पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका २० वर्षीय आभास केसी पनि घाइते भएका छन्। चालक चौधरीको अवस्था सामान्य रहेको छ भने पछाडि सवार केसीको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट पर्सेनीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="