दाङ,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ गठबन्धनबाट नेकपा (एमाले) की उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गता समूहबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरतर्फ कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ झाक्रीले ६ हजार ३३० मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ मत र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गरेका छन् ।
अपाङ्गता समूहमा कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ले ५ हजार ३२२ मत ल्याउँदै विजयी भए । यस समूहमा नेकपाका सर्जन विकले १ हजार ६०१ मत प्राप्त गरे।
यस्तै अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्रबहादुर केसीले ५ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत र राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस