दाङ,१२ माघ । राष्ट्रिय सभाका १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस ९ सिटमा विजयी भएको छ भने नेकपा (एमाले) ले ८ सिट जितेको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ सिट हात पारेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा तय गरिएको चुनावी तालमेल नीतिअनुसार कांग्रेसले नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरी उम्मेदवारी दिएको थियो। निर्वाचन सातै प्रदेशको सदरमुकाममा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्पन्न भएको थियो।
प्रदेशगत नतिजा अनुसार लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ (अपाङ्ग) र चन्द्रबहादुर केसी (खुला), तथा नेकपा (एमाले) की रामकुमारी झाँक्री (महिला) निर्वाचित भएका छन्।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै नेकपा (एमाले) की रोशनी मेचे (महिला) र सोमनाथ पोर्तेल (दलित) निर्वाचित भएका छन्।
मधेस प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अल्पसंख्यक), लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर (अन्य) तथा नेकपा (एमाले) की रेखाकुमारी झा (महिला) निर्वाचित भएका छन्।
वागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा (महिला) र नेकपा (एमाले) का प्रेमप्रसाद दंगाल (अन्य) निर्वाचित भएका छन्। गण्डकी प्रदेशमा नेकपा (एमाले) की सम्झना देवकोटा (महिला) र नेपाली कांग्रेसका जगत तिमिल्सिना (अन्य) विजयी भएका छन्।
कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजंग शाही (अन्य) र नेकपा (एमाले) का मीनासिंह रखाल (खुला) निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) की लीलाकुमारी भण्डारी (महिला) र नेपाली कांग्रेसका खम्मबहादुर खाती (अन्य) निर्वाचित भएका छन्।
स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता रहने सो निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता अनुपस्थित रहेका थिए भने अन्य दलका केही सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा सहभागी भएनन्।
राष्ट्रिय सभामा कुल १९ पद रिक्त हुनेमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस