दाङ,१४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन दाङ जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ। निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका मतदानस्थलको सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरिएको छ।
वर्गीकरणका आधारमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। उनका अनुसार निर्वाचनलाई लक्षित गरी ‘एकीकृत सुरक्षा योजना–२०८२’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ।
प्रजिअ अर्यालका अनुसार मतदानपूर्व, मतदानको दिन र मतदानपछिको सुरक्षालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा काम भइरहेको छ।
विगतका घटनाको समीक्षा, भौगोलिक विकटता, मतदाता सङ्ख्या, जेनजी आन्दोलनपछिको अवस्था लगायतका पक्षलाई ध्यानमा राखी सुरक्षा रणनीति तयार गरिएको उनले बताए।
दाङ जिल्लामा कूल १५९ मतदानस्थल र ४८२ मतदान केन्द्र रहेका छन्। तीमध्ये १३४ मतदानस्थल संवेदनशील, १६ अतिसंवेदनशील र नौ वटा सामान्य रहेका छन्। सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ अर्यालले जनाए।
उनले भने, “गस्ती, पेट्रोलिङ, सूचना सङ्कलन, सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक समाचार तथा सामग्रीको निगरानीसमेत थालिएको छ।
” निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ६०९, सशस्त्र प्रहरीका ४६९, नेपाल प्रहरीका एक हजार ३८१, निर्वाचन प्रहरीअन्तर्गत नेपाल प्रहरीका दुई हजार ४१५ र सशस्त्र प्रहरीका ३०३ गरी कूल पाँच हजार १७७ सुरक्षाकर्मी परिचालन गरिनेछ।
चुनावी कार्यक्रम, उम्मेदवारको घरदैलो अभियान, मतदाता, मतदानस्थल, मतपेटिका तथा मतगणनास्थलको सुरक्षाका लागि एकल तथा संयुक्त सुरक्षा गस्ती सञ्चालन भइरहेको पनि प्रजिअ अर्यालले बताए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपककुमार श्रेष्ठले निर्वाचनलाई ध्यानमा राख्दै जिल्लाको सुरक्षा अवस्था थप सुदृढ बनाइएको जानकारी दिए। उनका अनुसार जिल्ला कमाण्ड पोस्ट र निर्वाचन सेल स्थापना गरी कार्यान्वयनमा ल्याइसकिएको छ।
त्यसैगरी निर्वाचनमा खटिने निर्वाचन प्रहरीको नामावली सार्वजनिक भइसकेको र आवश्यक प्रशिक्षणको तयारी भइरहेको उनले बताए। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दाङ जिल्लामा कूल चार लाख ३१ हजार ६८७ मतदाता रहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस