after_navbar

हाम्रो पहुँच सहकारी १८औँ वार्षिकोत्सव


३ घण्टा अगाडि


दाङ,१६ माघ । हाम्रो पहुँच बहुदेश्यीय सहकारी संस्थाको १८औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

ad

कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले सहकारी संस्था आफ्नो दर्शन, मान्यता र सिद्धान्तअनुसार अघि बढेको उल्लेख गर्दै हाम्रो पहुँच सहकारीले शैक्षिक, उद्यमशीलता, व्यवसायीकरणलगायत आधा दर्जनभन्दा बढी क्षेत्रमा उल्लेखनीय काम गरेको बताए। उनले संस्थाले ३९ करोड रुपैयाँभन्दा बढीको वित्तीय कारोबार गर्दै १ सय १२ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिए।

पोख्रेलले समाजवादउन्मुख आर्थिक व्यवस्था र अर्थतन्त्रका तीन खम्बालाई मजबुत बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। सबै क्षेत्रमा सहकार्य र समावेशीतामार्फत आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा योगदान पुर्‍याउनु सहकारीको मूल उद्देश्य भएको भन्दै हाम्रो पहुँच सहकारीले त्यसअनुसार काम गर्दै आएको उनले बताए।

उनले सामाजिक एकता र संकटमोचनका लागि सहकारी ऐतिहासिक रूपमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बजारका लागि उत्पादन गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए।

नेपालका कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरी व्यवसायी बन्न जरुरी रहेको भन्दै केही व्यक्तिले निजी लाभका लागि सहकारी दुरुपयोग गर्दा क्षेत्रप्रति नकारात्मक आरोप लाग्ने गरेको उनको भनाइ थियो। हाल करिब ३० सहकारी संकटग्रस्त रहेको उल्लेख गर्दै नीतिगत रूपमा सञ्चालन हुने सहकारी उदाहरणीय बन्न सक्ने बताए।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी पूर्णिमा भण्डारीले शैक्षिक संस्थाबाट प्राप्त अवसर र क्षमताले विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुगेको अनुभव सुनाइन्।

प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डांगीले विद्यालयहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि गरेका प्रयासका कारण उत्कृष्ट नतिजा हासिल हुँदै आएको बताए।

नेपाल आयल निगम तुलसीपुरका प्रमुख विनोद बस्नेतले संस्थाले आर्थिक तथा वित्तीय क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सहकारीले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन खेलेको भूमिकाको चर्चा गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। कार्यक्रमको सहजीकरण हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="