after_navbar

रुकुम पूर्वमा कर्मचारी विवाद : मतदान अधिकृतले त्यागे जिम्मेवारी


फागुन १२, २०८२


रुकुम पूर्व ,१२ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुकुम पूर्वमा कर्मचारी खटनपटनलाई लिएर विवाद चर्किएको छ। पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले आफूलाई तोकिएको मतदान अधिकृतको जिम्मेवारी अस्वीकार गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा पत्र बुझाउँदै उनले शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै भूमे–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चुन्वाङको मतदान अधिकृत पद त्यागेको घोषणा गरेका हुन्। शिक्षकहरूको पेसागत गरिमामाथि विभेद गरिएको उनको आरोप छ।

स्वास्थ्यकर्मीलाई चुनावी कार्यमा खटाइएको विषयमा यसअघि नेपाल शिक्षक महासंघ र नेपाल पत्रकार महासंघले विरोध जनाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत निर्वाचन अवधिमा स्वास्थ्यकर्मीलाई नियमित सेवामै केन्द्रित गर्न निर्वाचन आयोग नेपाललाई आग्रह गरेको थियो।

निर्वाचनको मुखैमा जिम्मेवार कर्मचारीले जिम्मेवारी त्यागेपछि जिल्ला निर्वाचन कार्यालय दबाबमा परेको छ। रुकुम पूर्वको एक मात्र निर्वाचन क्षेत्रमा पुष्पकमल दाहालसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस

data-href="