after_navbar

यातायात कार्यालयका ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


फागुन १५, २०८२



दाङ,१५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगन्जका तत्कालीन प्रमुखसहित ३३ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालत मा मुद्दा दायर गरेको छ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरी आर्थिक लेनदेनका आधारमा अनुत्तीर्ण परीक्षार्थीलाई उत्तीर्ण गराएको आरोपमा बिहीबार मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार र रमेशबहादुर बुढाथोकी, निमित्त प्रमुख दिनेशसिंह ठाकुर र रविन्द्र केसीसहित विभिन्न कर्मचारीलाई प्रतिवादी बनाइएको छ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी निरीक्षक पुष्करराज पन्तसहित अन्य प्रहरी कर्मचारीसमेत मुद्दामा तानिएका छन्।

अनुसन्धानका क्रममा बिचौलिया र ड्राइभिङ सेन्टर सञ्चालकसँग मिलेमतो गरी कानुनी प्रक्रिया विपरीत काम गरिएको पाइएको आयोगले जनाएको छ। नक्कली परीक्षार्थी खडा गर्ने, अनुत्तीर्णलाई उत्तीर्ण गराउन डिजिटल अभिलेखमा फेरबदल गर्ने, रकम संकलन गरी बाँडफाँट गर्ने जस्ता कार्य भएको आरोप छ।

डिजिटल फरेन्सिक परीक्षण, बैंक स्टेटमेन्ट र ह्वाट्सएप संवादलाई प्रमाणका रूपमा लिइएको जनाइएको छ।
आरोपपत्रअनुसार शक्ति ठाकुरसँग सबैभन्दा बढी ५ करोड ४७ लाख ८६ हजार २४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

त्यस्तै, रमेशबहादुर बुढाथोकीसँग ३ करोड ७८ लाख २ हजार ६१७ रुपैयाँ माग गरिएको छ। मामा भान्जा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक शरदकुमार गोराथोकी र न्यू स्वर्गद्वारी ड्राइभिङ सेन्टरका सञ्चालक चिरञ्जीवी पोख्रेललाई मतियारको रूपमा मुद्दा दायर गरिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय, जरिबाना र बिगो जफतको माग गर्दै आयोगले आरोपपत्र पेश गरेको हो।

प्रतिक्रिया दिनुहोस

data-href="