दाङ,१५ फागुन । दाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय दाङले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उक्त कार्यमा रोक लगाएको हो।
शुक्रबार सहाय प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराएकी हुन् ।
उक्त सूचनामा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आज (फागुन १५) गतेदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म दाङ जिल्ला भित्र सबै प्रकारका मादक पदार्थ बिक्री–वितरण तथा सेवन गर्न निषेध गरिएको जारी सूचनामा उल्लेख छ।
प्रशासनले उक्त निर्णयको पूर्ण पालना गर्न सम्बन्धित सबै सरोकारवालासँग अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस