after_navbar

पद र प्रतिष्ठाको शिकारमा महिला :उग्र बन्दै घरेलु हिंसा


६ घण्टा अगाडि


उमा भण्डारी, दाङ। ‘निद्रा लाग्दैन, भोक लाग्दैन। कहिलेकाहीँ त मर्नु बेस हुन्छ जस्तो लाग्छ।’ दाङकी ४० वर्षीया ‘क’ (नाम परिवर्तन) आफ्नो जीवनका दुई दशक लामो पीडा सम्झिँदै भन्छिन्।

ad

विवाह भएको एक हप्ता नबित्दै श्रीमानको कुटपिट सुरु भयो। त्यसपछि उनका दिनहरू गाली, अपमान, कुटपिट र जबर्जस्ती यौन सम्बन्धको यातनाबीच बित्न थाले। गर्भावस्था र सुत्केरी अवस्थासमेत उनले हिंसाबाट मुक्त हुन पाइन्न।

‘गर्भमा बच्चा हुँदा पनि जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य पारिन्थ्यो। उनले भनिन् -‘ नदिने, गाली गर्ने, कुट्ने सबै सहनु पर्‍यो।’

उनका श्रीमान् सरकारी विद्यालयका शिक्षक हुन्। सामाजिक प्रतिष्ठा र पहुँचका कारण आफुले न्याय पाउन अझ कठिन भएको उनको अनुभव छ। सहन नसकेर प्रहरीमा उजुरी दिँदा समेत मिलापत्र गराइएको उनले बताइन्।

गत चैत २१ गते राति भएको कुटपिटले उनको दाहिने खुट्टा नै भाँचियो। लगातारको हिंसाले उनी अहिले गम्भीर मानसिक समस्यासँग जुधिरहेकी छन्।
‘प्रहरी, न्यायिक समिति सबै ठाउँ धाएँ, तर आजसम्म न्याय पाइएन,’ उनले भनिन्।

दाङकै १९ वर्षीया एक किशोरीको पीडा पनि उस्तै छ। गरिब परिवारकी उनी सानै उमेरमा होटलमा काम गर्न बाध्य भइन्। त्यही क्रममा होटल सञ्चालकका छोराले उनीमाथि जबर्जस्ती करणी गरे।

समाज र परिवारको “इज्जत जोगाउने” नाममा उनलाई त्यही व्यक्तिसँग विवाह गर्न बाध्य पारियो। तर विवाहपछि पनि हिंसा रोकिएन।

उनका अनुसार श्रीमान्का जेठाजुले समेत यौन दुर्व्यवहार गरे। त्यसबारे आवाज उठाउँदा परिवारले नै अस्वीकार गर्दै घरबाट निकालिदियो।

श्रीमान् वैदेशिक रोजगारीका लागि कुवेत गएपछि सुरुमा सम्पर्कमा रहे पनि पछि सम्पर्क टुट्यो। अहिले नेपालमै बस्दै उनले अर्कै विवाह गर्ने धम्की दिँदै कुटपिट र डर देखाउने गरेको किशोरी बताउँछिन्।

दुई साना छोरीसहित भाडाको घरमा बस्दै आएकी उनले आर्थिक अभाव र निराशाका कारण आत्महत्याको प्रयाससमेत गरेको बताइन्। ‘प्रहरी चौकी, नगरपालिका सबै ठाउँ धाएँ, तर न्याय पाइएन,’उनले भनिन्।

यी घटना प्रतिनिधिमुलक हुन् । उनीहरू जस्तै अझपनि थुप्रै महिलाहरु परिवार र समाजको प्रतिष्ठा जोगाउने बाहानामा हिंसाको शिकार बन्न बाध्य छन्

लुम्बिनी प्रदेशमा महिलामाथि हुने हिंसाका घटनाहरू निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले दाङ, कपिलवस्तु र रुपन्देही जिल्लाबाट सन् २०२५ जुलाईदेखि डिसेम्बरसम्म संकलन गरेको तथ्यांक अनुसार यस अवधिमा लैंगिक विभेदमा आधारित ९३ वटा हिंसाका घटना अभिलेखन भएका छन्।

तीमध्ये ८२.८० प्रतिशत अर्थात ७७ वटा घटना घरेलु हिंसासँग सम्बन्धित छन्। तथ्यांकले सबै ९३ घटनामा पीडित महिलाले मानसिक हिंसा भोगेको देखाएको छ।

यसका साथै ४० प्रतिशत घटनामा शारीरिक हिंसा भएको छ भने ४.३० प्रतिशत अर्थात ४ घटनामा यौन हिंसा भएको तथ्यांकमा उल्लेख छ। त्यस्तै १०.७५ प्रतिशत अर्थात १० वटा सामाजिक हिंसाका घटना अभिलेख भएका छन्।

ओरेकका अनुसार धेरै महिलाले साहस गरेर आवाज उठाए पनि प्रभावशाली व्यक्ति वा परिवारको पहुँचका कारण पीडकलाई संरक्षण दिने प्रवृत्ति अझै देखिन्छ। राजनीतिक र सामाजिक दबाबमा मिलापत्र गराउने, घटनालाई दबाउने वा गुपचुप राख्ने अवस्था अझै रहेको संस्थाले जनाएको छ।

ओरेकका अनुसार यस्ता घटनाहरूले महिलामाथि हुने हिंसा केवल व्यक्तिगत समस्या नभई सामाजिक संरचनासँग जोडिएको गम्भीर समस्या भएको देखाउँछ।
संस्थाले पीडित महिलाका लागि सुरक्षित आवास, उपचार, कानुनी सहायता र पीडकलाई कडा कारबाही सुनिश्चित गर्न राज्यलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="