after_navbar

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका पाँच जना सम्पर्कविहीन, एकको मृत्युको आशंका


४ घण्टा अगाडि


दाङ,२ चैत । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका सुर्खेतका एक युवकको मृत्यु भएको आशंका गरिएको छ भने पाँच जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

ad

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बराहताल गाउँपालिका–२ का ३३ वर्षीय टोपबहादुर खत्री फागुन २३ गते केही साथीसहित सिकार खेल्न घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए। त्यसपछि उनी घर फर्किएनन्।

बराहताल–२ का आसे महतराले आफ्ना साला नाता पर्ने खत्रीको सिकार खेल्ने क्रममा मृत्यु भएको जानकारी प्रहरीलाई दिएका छन्। साथै सँगै गएका व्यक्तिमध्ये एक जना सुनिल समसेलीकी आमामार्फत पनि खत्रीको मृत्यु भएको खबर आएको बताइएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि सोमबार बिहान प्रहरी चौकी रानीघाटबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थल सुर्खेतबाट करिब १७ किलोमिटर दक्षिणतर्फ बर्दिया जिल्ला क्षेत्रभित्र पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियासँग समन्वय गरेर खोजी तथा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।

खत्रीसँगै सिकार खेल्न गएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ति, ३० वर्षीय सुनिल समसेली तथा लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका प्रहरीले जनाएको छ।

घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="