काठमाडौ,२८ वैशाख । बजेट अभावका कारण गएको वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार बजेट अभावसँगै यस वर्ष बाघ गणना पनि परेकाले गैँडा गणना गर्न नसकिएको हो । हरेक चार वर्षमा हुँदै आएको गणनाका लागि भने आगामी वर्षको तयारी सुरु भइसकेको छ ।
उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक (जेनेटिक) विधिबाट गैँडा गणना गरिनेछ भने बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा प्रत्यक्ष अवलोकनबाट गणना गरिने तयारी छ ।
आनुवंशिक विधिमा गैँडाको गोबर संकलन गरी डीएनए परीक्षणबाट संख्या र लिङ्ग पहिचान गरिन्छ । गैँडाले सामान्यतया एकै स्थानमा दिसा गर्ने भएकाले त्यस्ता स्थान पहिचान गरी पटक–पटक नमूना संकलन गरिन्छ ।
यसअघि सन् २०२१ को गणनामा झण्डै तीन करोड रुपैयाँ खर्च भएको थियो । सो गणनामा देशभरका निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ वटा गैँडा फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस