रोल्पा,५ जेठ । रोल्पामा जेसिभीले खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको परिवर्तन गाउँपालिका–३ बागमारास्थित पाछावाङ खोला किनारमा जाली बाँध्ने क्रममा मंगलबार बिहान करिब १० बजेतिर फलामको सकेटजस्तो देखिने र दुईवटा तार निस्किएको वस्तु फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी बागमाराबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु शंकास्पद रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले घटनास्थल घेराबन्दी गरी सुरक्षित राखेको छ। उक्त वस्तु बम वा अन्य विस्फोटक पदार्थ हुन सक्ने आशंका गरिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान तथा डिस्पोजलका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस