after_navbar

लमहीका प्रशासकीय अधिकृत डाँगीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा


६ घण्टा अगाडि


दाङ,३१ वैशाख। झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला तीन उपसचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुर्खेत उपत्यका नगर विकास समितिमा संकलित राजस्व रकम हिनामिना गरिएको प्रकरणमा अख्तियारले हाल लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका गेहेन्द्रबहादुर डाँगी, नगर विकास समितिका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल र नरहरि तिवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यस्तै, तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षेत्री (दिवंगत) र सहलेखापाल खड्कबहादुर रानालाई पनि प्रतिवादी बनाइएको छ। क्षेत्रीको निधन भइसकेकाले बिगो असुल प्रयोजनका लागि उनकी पत्नी सीमाकुमारी चन्दलाई प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०र८१ सम्म समितिमा उठेको राजस्व रकम योजनाबद्ध रूपमा हिनामिना गरिएको थियो। भाडाबापत संकलित चार करोड १८ लाख चार हजार ३०३ रुपैयाँमध्ये कानुनअनुसार सम्पूर्ण रकम समितिको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहे पनि एक करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्र दाखिला गरिएको पाइएको छ। बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ हिनामिना गरिएको अख्तियारको दाबी छ।

अनुसन्धानका क्रममा प्रतिवादीहरूले हिनामिनापछि रकम बैंकमा दाखिला भएको देखिने झुट्टा विवरण तयार गरी आय–व्यय प्रतिवेदन अनुमोदनका लागि समितिको बैठकमा पेश गरेको तथा त्यसलाई बैठकबाट निर्णयसमेत गराइएको खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले तत्कालीन सदस्य सचिव ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपैयाँ, तिवारीविरुद्ध एक करोड चार लाख ७१ हजार ९४२ रुपैयाँ र डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपैयाँ बिगो दाबी गरेको छ। तीनै जना वीरेन्द्रनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा नगर विकास समितिको सदस्य सचिवको जिम्मेवारीमा थिए।

ढकाल हाल वैदेशिक रोजगार विभाग का निर्देशक छन् भने तिवारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मा निर्देशकका रूपमा कार्यरत छन्। डाँगी हाल लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्।

तत्कालीन लेखा अधिकृत क्षेत्रीविरुद्ध दुई करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ बिगो दाबी गरिएको छ भने सहलेखापाल रानाविरुद्ध दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="