after_navbar

नीति तथा कार्यक्रममाथिको छलफल सुरु


५ घण्टा अगाडि


काठमाडौ,३१वैशाख। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गर्दै बुधबार बैठक अवरुद्ध गरेका विपक्षी दलहरूले आज भने छलफल सञ्चालन गर्न दिएका छन् । नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराएका सांसदहरूले आफ्ना प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।

बैठकको सुरुवातमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभए पुनः बैठक अवरोध गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले अघिल्लो संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले व्यक्त गरेको “संसद् चिया चौतारी होइन, मन लागे आउने र जतिबेला पनि उठेर जाने ठाउँ होइन” भन्ने भनाइ स्मरण गराउँदै सभामुखले बैठक सुचारु हुने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्नुको कारणबारे प्रश्न उठाएका थिए । उनले व्यंग्य गर्दै सुकुम्बासी बस्तीमा डोजर चलाउन व्यस्त भएकाले प्रधानमन्त्री संसद्मा आउन नसकेको हो कि भन्ने टिप्पणी समेत गरे ।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। प्रधानमन्त्रीले संसद्लाई पर्याप्त महत्व नदिएको देखिएको भन्दै उनले सुकुम्बासी बस्ती र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथिको छलफलका क्रममा पनि प्रधानमन्त्री अनुपस्थित रहेकोमा आपत्ति जनाएकी हुन्। ओलीले भनिन्, “पहिलो अधिवेशनमा पनि प्रधानमन्त्रीले सम्बोधन गर्नुभएन । दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पनि उहाँ बीचमै बाहिरिनुभयो ।”

आजको बैठकमा मुख्यतः नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिने सहमति भएपछि सदन सञ्चालनको वातावरण बनेको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="