after_navbar

सुकुम्बासीलाई मासिक १५ हजार


३ घण्टा अगाडि


काठमाडौ,३१ वैशाख। सरकारले सुकुम्बासीलाई मासिक १५ हजार रुपैयाँ उपलव्ध गराउने भएको छ । वास्तविक सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी बसोबास व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको हो। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी दिएका हुन्।

समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री र पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनसम्बन्धी हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै उक्त योजना सार्वजनिक गरेका हुन्।

हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएका भूमिहीनहरूको पहिचान गर्न ‘स्क्रिनिङ’ प्रक्रिया सञ्चालन भइरहेको छ। सो प्रक्रिया सम्पन्न भएलगत्तै ‘फास्ट ट्र्याक’ बाट लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ।

शहरी विकास मन्त्रालयले यस कार्यक्रमका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित भइसकेको जानकारी समितिलाई दिएको छ। त्यस्तै, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको तथा सुत्केरी महिलाहरूका लागि पोषणसम्बन्धी आवश्यक व्यवस्थापन मिलाइएको दाबी पनि सरकारी पक्षले गरेको छ।

समिति सभापति ढकालले भने, “काठमाडौंका होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको स्क्रिनिङ भइरहेको छ। लालपुर्जा प्राप्त नभएसम्मका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी सरकारले गरेको छ, र त्यसका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ।”सरकारले प्रस्तुत गरेको प्रगति विवरणको वास्तविक अवस्था बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="