दाङ,५ जेठ ।राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले भूमिहीन र सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै तत्काल रोक्न माग गरेको छ। यसका लागि पार्टीले जिल्ला प्रशासन कार्यालय घोराहीमा ज्ञापनपत्र बुझाएको हो। जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लाई ज्ञापनपत्र बुझाएको हो।
जनमोर्चाले धनीपुर्जा नभएका नागरिकलाई हटाउने कामले बस्तीमा डर फैलिएको जनाएको छ। सर्वोच्च अदालत ले अहिलेका लागि डोजर रोक्न भने पनि मानिसहरू अझै त्रसित रहेको उल्लेख गरिएको छ। बर्खा आउन लागेकाले अहिले बस्ती हटाउँदा गरिब नागरिकहरू झन् समस्यामा पर्ने जनमोर्चाको भनाइ छ।
सरकारी जग्गा अतिक्रमण भएको भए त्यसको समाधान गर्नुपर्ने र घर नभएका मानिसलाई बस्ने व्यवस्था गर्नु राज्यको जिम्मेवारी भएको पार्टीले जनाएको छ।
सबै प्रकारका मानिसलाई एउटै रूपमा हेर्न नहुने भन्दै फरकफरक तरिकाले समस्या समाधान गर्नुपर्ने माग गरिएको छ।
नीति बिना जबरजस्ती बस्ती हटाउन खोजिए आन्दोलन गर्ने चेतावनी पनि जनमोर्चाले दिएको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले विषय गम्भीर रहेको र केन्द्र सरकारले यसबारे नीति ल्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस