after_navbar

यातायात कार्यालय बांकेका सबै सेवा हप्ता दिनसम्म ठप्प


१२ घण्टा अगाडि



दाङ,५ साउन। यातायात व्यवस्था कार्यालय बाँकेको सबै सेवा एकसाता सम्मका लागि सबै सेवा ठप्प भएको छ। कार्यालयले डाटाबेस माइग्रेसन र नयाँ दररेट प्रणाली प्रविष्टि तथा मिलानको काम भइरहेकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई एक सातापछि मात्रै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो।


कार्यालयले आइतबार सूचना जारी गर्दै यातायातसम्बन्धी सेवा प्रणालीलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले डाटाबेस माइग्रेसनसँगै प्रदेश सरकारले निर्धारण गरेको नयाँ कर दररेट प्रणालीमा प्रविष्टि तथा मिलानको काम भइरहेको जनाएको छ।


सो प्रक्रिया पूरा हुन करिब एक सातासम्म लाग्ने भएकाले साउन ८ गतेपछि मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। प्रणाली अद्यावधिकका क्रममा सेवा प्रवाह प्रभावित हुन सक्ने भएकाले अनावश्यक भीड कम गर्न यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ।


यस अवधिमा सवारी दर्ता, नवीकरण, नामसारी, चालक अनुमतिपत्रलगायत सेवामा केही असहजता हुन सक्ने जनाइएको छ। सेवाग्राहीलाई अत्यावश्यक काम नभए केही दिन प्रतीक्षा गरेर मात्रै सेवा लिन आउन आग्रह गरिएको छ।


निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल द्वारा हस्ताक्षरित सूचनामा सेवा प्रवाहमा परेको असुविधाप्रति क्षमायाचनासमेत गरिएको छ। साथै यातायात व्यवस्था विभाग, मीनभवन, काठमाण्डौँले पनि साउन ४ गते यस्तै अनुरोध जारी गरिसकेको उल्लेख गरिएको छ।
कार्यालयले प्रणाली अद्यावधिकपछि सेवा अझ छिटो, सहज र व्यवस्थित हुने विश्वास व्यक्त गर्दै आवश्यक जानकारीका लागि आधिकारिक सूचनामार्फत जानकारी लिन सेवाग्राहीलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="