गुल्मी,२४ साउन। प्रहरीले गुल्मीका विभिन्न स्थानबाट तीन थान भरुवा बन्दुक फेला परेको छ । नियमित गस्ती तथा स्थानीयको सूचनाका आधारमा बेवारिसे अवस्थामा ती हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरी निरीक्षक पर्वत केसीका अनुसार रेसुङ्गा नगरपालिका-२ धागिथुमको सेतो गुराँस क्षेत्रबाट एक थान, मदाने गाउँपालिका-२ बाँझकटेरीबाट एक थान र रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्सारको मुसीडाँडाबाट एक थान भरुवा बन्दुक फेला परेको हो।
बन्दुकसँगै बारुद र छर्रा समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पछिल्लो समय विभिन्न स्थानमा यसरी भरुवा बन्दुक फेला पर्न थालेपछि ती हतियार कसले, किन र के प्रयोजनका लागि लुकाएर राखेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
यसअघि निर्वाचनका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै व्यक्तिसँग रहेका हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको थियो।
प्रहरीका अनुसार अवैध हतियार राख्दा जोखिम हुनसक्ने त्रासका कारण व्यक्तिहरूले ग्रामीण क्षेत्र, जङ्गल वा ओढारजस्ता स्थानमा यस्ता बन्दुक छोडेर गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। बरामद गरिएका बन्दुकहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस