रोल्पा,३० साउन। रोल्पाका दुई स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ। अझै एकजना बेपत्ता छन् ।
जिल्लाको थबाङ गाउँपालिका-५ कोटलबारामा गएको पहिरोमा परी बेपत्ता भएका मध्य थप एकजनाको शव फेला परेको छ।
प्यूठानको सरुमारानी गाउँपालिका-२ स्थित राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ-५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको रहेको पुष्टि भएको हो।
अजम्बरको शव फेला परेसँगै थबाङ पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। पहिरोमा परेका १३ जनामध्ये १२ जनाको शव फेला परिसकेको छ भने ९ वर्षीय अशिम पुन मगर अझै बेपत्ता छन्।
पहिरोमा घाइते भएका दुई जनाको बुटवलमा उपचार भइरहेको छ।
गत बुधबार साँझ लेदोसहित खसेको पहिरोले कोटलबारामा १३ वटा संरचना पूर्णरूपमा क्षति पुर्याएको थियो।
यस्तै, रोल्पाकै सुनछहरी गाउँपालिकामा बिहीबार गएको पहिरोमा चार जनाको मृत्यु भएको थियो। पछिल्लो दुई दिनमा रोल्पाका विभिन्न स्थानमा गएको पहिरोमा परी १६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस