after_navbar

जाजरकोटमा पहिरो : दुई जनाको मृत्यु, दुई जना अझै बेपत्ता


४ घण्टा अगाडि


जाजरकोट, ३१साउन । अविरल वर्षापछि जाजरकोटमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। दुईजना अझै बेपत्ता छन् । जिल्लाको भेरी नगरपालिका-२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको हो।

पहिरोमा परी भेरी नगरपालिका-२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। घाइते कार्कीलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो। उनको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि भेरी-२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा मृत फेला परेका थिए।

पहिरोमा परी भेरी-२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको छ।

सोही ठाउका आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई पनि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ।

भेरी- २ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

भेरी-१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पहिरो आएपछि भाग्ने क्रममा भेरी-२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।

पहिरोले भेरी नगरपालिका-३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्।

पहिरोको जोखिममा रहेका भेरी नगरपालिका-२ रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ।

यस्तै, झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनालाई गरी थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङ तथा आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्किनुका साथै स्थानीय बासिन्दा विस्थापित भएका छन्। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="