जाजरकोट, ३१ साउन। जाजरकोटमा पहिरोमा परेर मृत्यु हुनेको सँख्या चार पुगेको छ । भेरी नगरपालिका-२ मा शनिबार बेलुकी पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेसँगै मृतकको संख्या चार पुगेको हो।
मृत्यु हुनेमा भेरी नगरपालिका-२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री रहेका छन्। यसअघि पहिरोमा परी घाइते भएका करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परी ६ जना घाइते भएका छन्। उनीहरूमध्ये केहीको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ। तीन जना भने उपचारपछि डिस्चार्ज भएका छन्।
अविरल वर्षाका कारण भेरी नगरपालिक-२ को रिसाङलगायत क्षेत्रमा पहिरो जाँदा घर तथा टहरामा क्षति पुगेको छ। पहिरोको जोखिममा रहेका ६० देखि ७० घरपरिवारका २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले जोखिमका बीच खोज तथा उद्धार, घाइतेको उद्धार र प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्।।
प्रतिक्रिया दिनुहोस