रुकुम पूर्व ,४ भदौ । पुथाउत्तरगंगा गाउँपालिकाले करिब साढे ४ करोड रुपैयाँ लगानीमा तीनवटा मोटरेबल पुल निर्माण गरेको छ। पुल निर्माणसँगै गाउँपालिकाका विभिन्न वडामा आवतजावत सहज भएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको हो।
वडा नं. ११ सेरा र वडा नं. १० तक जोड्ने उत्तरगंगा नदीमाथि २७ मिटर लामो पुल निर्माण गरिएको छ। उक्त पुलले सदरमुकामतर्फबाट आउने सडकलाई गाउँपालिका केन्द्र हुँदै माथिल्ला नौवटा वडासँग जोडेको छ।
त्यस्तै, वडा नं. ६ डिम्मुगैरा र वडा नं. ९ खारबाङ जोड्न सानीभेरी नदीमाथि ३० मिटर तथा वडा नं. ५ हुकाम र वडा नं. १ मैकोट जोड्न सोही नदीमा २७ मिटर लामो बेली ब्रिज निर्माण गरिएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिए।
अध्यक्ष घर्तीका अनुसार प्रत्येक पुल निर्माणमा गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ। तीनवटै पुल निर्माणमा कुल ४ करोड ५० लाख रुपैयाँ खर्च भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस