after_navbar

विद्यार्थीलाई खिर र शैक्षिक सामग्री वितरण


४ घण्टा अगाडि


दाङ,३० साउन । लायन्स क्लब अफ दाङले जनता आधारभूत विद्यालय हर्नेटीका विद्यार्थीलाई खिर तथा शैक्षिक सामग्री वितरण गरेको छ।

लायन्स क्लब अफ दाङको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत १०६ जना विद्यार्थीलाई खिर खुवाउनुका साथै कापी, कलम, वर्णमाला किताब, भलिबल र फुटबल वितरण गरिएको हो।

कार्यक्रम लायन्स क्लब अफ दाङका अध्यक्ष लोकबहादुर विष्टको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका सिनियर एजुकेटेक चिफ लायन बुद्धप्रकाश सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा लायन्स क्लब अफ दाङका पूर्वअध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ एनका डेपुटी चिफ लायन गोरखबहादुर ओली विशिष्ट आतिथ्यताम कार्यक्रम भएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमा घर्ती, प्रधानाध्यापक कमलराज थापा, राप्ती परोपकार संघ नेपालका सचिव राघव देवकोटा, समाजसेवी खिलत केसी, लायन्स क्लब अफ दाङका निवर्तमान सचिव विजय गिरीलगायतको सहभागिता थियो।

विद्यार्थीलाई ६० दर्जन कापी, ६० दर्जन कलम, वर्णमाला किताब तथा एक-एक थान भलिबल र फुटबल वितरण गरिएको आयोजकले जनाएको छ।

विद्यार्थीलाई पोषणयुक्त खाना तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ दाङका पूर्वअध्यक्ष गोरखबहादुर ओलीले जानकारी दिए।

कार्यक्रममा वक्ताहरूले विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्य र पोषणमा पनि ध्यान दिनुपर्ने बताउँदै विद्यालय तथा विद्यार्थी केन्द्रित कार्यक्रमलाई निरन्तरता दिन सामाजिक संघसंस्थालाई आग्रह गरेका थिए।

कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ दाङका सहसचिव माधवा पोख्रेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

data-href="