after_navbar

नुवाकोटमा १७७ जनाको शव फेला


२१ घण्टा अगाडि


काठमाडौ,१८ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको शव खोजी तथा व्यवस्थापनअन्तर्गत नुवाकोटमा जमिनको सतहमा शव सङ्कलन गर्ने प्रारम्भिक चरणको काम पूरा भएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार हालसम्म १७७ जनाको शव फेला परेको छ। तीमध्ये १६ जनाको पहिचान गरी परिवारलाई बुझाइएको छ भने पहिचान हुन बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

रेग्मीका अनुसार नेपाली सेनाको हेलिकप्टर, नेपाल प्रहरीको ड्रोन क्यामेरा र तालिम प्राप्त कुकुर परिचालन गरी जिल्लाका ३० स्थानलाई आधार इलाका बनाएर जमिनको सतहमा देखिएका तथा घरभित्र रहेका शव खोजी तथा सङ्कलन गरिएको हो।

उनले भने, “जमिनको सतह र घरभित्र देखिने अवस्थाका शव सङ्कलन गरिएको छ। कहीँ कतै शव देखिएमा प्रहरीलाई खबर गर्न अनुरोध गरेका छौँ।”

प्रहरीले अब उत्खनन तथा खानतलासीमार्फत पुरिएका शव खोजी गर्ने जनाएको छ। संयुक्त सुरक्षा फौजमार्फत भइरहेको शव व्यवस्थापनमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले जमिनमा तथा नेपाली सेनाले हेलिकप्टरमार्फत शव ओसार्न सहयोग गरिरहेको छ।

सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरमा एकै स्थानमा २१ वटा शव फेला परेका थिए। सार्वजनिक सवारीसाधन रोकेर सुरक्षित स्थान ठानी आश्रय लिएका व्यक्तिहरू बाढीमा परेर उक्त स्थानमा पुरिएको हुनसक्ने बताइएको छ। त्यहाँबाट सङ्कलन गरिएका अधिकांश शवको बेत्रावतीमै पहिचान हुन नसकेपछि परीक्षणका लागि काठमाडौं पठाइएको छ।

बाढीले प्रभावित बेत्रावती, सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटलगायत क्षेत्रमा घर तथा सडकमा थुप्रिएको गेग्रान र लेदो हटाएर प्रहरीले पुरिएका स्थानमा खानतलासी तथा शव खोजी गरिरहेको छ।

यसअघि जिल्लाका विभिन्न ३० स्थानमा परिचालन गरिएको शव खोजी टोली अब मुख्य प्रभावित बस्तीमा केन्द्रित भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="