दाङ,१८ भदौ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दाङको तुलसीपुर-७ श्रीगैँस्थित पतञ्जली योग साधना केन्द्रले दीप प्रज्वलन गरेको छ।
मृतकहरूको शान्ति र मुक्तिको कामना गर्दै आयोजित कार्यक्रममा नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, बाढीमा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामनासमेत गरिएको केन्द्रले जनाएको छ।
केन्द्रका अध्यक्ष इन्द्रमणि पोख्रेलको अध्यक्षता तथा तुलसीपुर-७ का वडाध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा वडाध्यक्ष जिसीले राष्ट्र विपत्तिमा परेका बेला सबैको सहयोग आवश्यक रहेको बताए।
केन्द्रले बाढी प्रभावितका लागि राहत सामग्री तथा रकम सङ्कलन गरी पठाउने तयारीसमेत गरेको जनाएको छ।
कार्यक्रममा पतञ्जली योग साधना केन्द्रका वरिष्ठ जिल्ला सल्लाहकार टोपबहादुर केसी, पतञ्जली युवा नेपालका जिल्ला प्रभारी मोती वली, नगर प्रभारी दुर्गा भण्डारी, पूर्व जिल्ला सदस्य इन्दिरा शर्मा, नगर महिला उपप्रभारी रोशना शाहलगायतको सहभागिता थियो।
त्यस्तै, पूर्व संस्थापक अध्यक्ष नारायणप्रसाद भुसाल, पूर्व अध्यक्ष सरस्वती भण्डारी, पूर्व वडा प्रभारी निमा महतारा, केन्द्र उपाध्यक्ष रञ्जना भुसाल, सदस्य सुस्मिता गिरी, ईश्वरा महतारा र पूर्व कोषाध्यक्ष सुनिता केसीलगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस