काठमाडौ,२२ भदौ ।संयुक्त राष्ट्रसंघले ‘बालबिवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ घोषणा गरेको छ। हालै सुरु भएको राष्ट्रसंघीय महासभाले हरेक वर्ष नोभेम्बर २७ मा उक्त दिवस मनाउनेगरी बालबिवाहविरुद्ध विश्वव्यापी अभियानको सुरुवात गरेको हो।
भारत अनि नेपालका केही गाउँहरू, सहर र कुनाबाट सुरु भएको बालबिवाहविरुद्धको यो अभियानलाई विश्वभर फैलाउनका लागि बालबालिकाका लागि अधिकार (जेआरसी)का संस्थापक भुवन ऋभूले महत्वपूर्ण भूमिका निभाए। उनिसँगकै साझेदारीमा अफ्रिकी मुलुक सिएरा लियोनकी प्रथम महिला डा.फातिमा माडा बायोले विश्व राजनीतिक नेतृत्वसँग बलियो सञ्जाल बनाइन्।
उनैले संयुक्त राष्ट्रसंघीय महासभाको एउटा बैठकमा अन्तर्राष्ट्रिय दिवसका रुपमा स्थापित गर्न प्रस्ताव गरेकी थिइन्। राष्ट्र संघको यो निर्णयसँगै अब बालबिवाहविरुद्धको अभियान विश्वव्यापी बनेको छ। बालबिवाहको उन्मुलन सन् २०३० सम्म पूरा भइसक्नुपर्ने विश्वब्यापी दीगो विकास लक्ष्यको एक अंश पनि हो।
जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल (जेआरसिएन) ले बालबिवाहमुक्त समाज र राष्ट्र अनि बालबिवाहमुक्त विश्वको परिकल्पनालाई साकार पार्नका लागि संयुक्त राष्ट्रसंघको यो निर्णय एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताएको छ। बालबिवाह मुक्त नेपालको राष्ट्रिय लक्ष्यलाई साकार पार्न यो अभियानमा साझेदारी गर्ने उद्देश्यले नेपालमा पनि दुई वर्षअघि जेआरसिएन स्थापना भएको थियो।
‘जस्ट राइट्स फर चिल्ड्रेन नेपाल’ले देशका सातै प्रदेशमा ‘बालविवाहमुक्त नेपाल’ अभियान सञ्चालन गर्दै आएको छ। ३१ डिसेम्बर २०२४ मा शुभारम्भ गरिएको यस अभियानलाई तत्कालीन प्रधानमन्त्री तथा सातै प्रदेशका प्रतिनिधिहरूले समर्थन जनाउँदै सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। दक्षिण एसियामा बालविवाह उन्मूलनका लागि नेपाल क्षेत्रीय साझेदारका रूपमा अगाडि बढेको छ।
भारतको ‘बालविवाहमुक्त भारत’ अभियानसँगै नेपालको यो सक्रियताले सम्पूर्ण दक्षिण एसियामा एकीकृत प्रयासलाई थप बल पुर्याएको छ।
विश्वव्यापी पहल र नेतृत्व बालविवाह विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवधारणा पहिलोपटक बालबालिकामाथि हुने हिंसा, शोषण र यौन दुर्व्यवहार विरुद्ध कार्यरत ‘जस्ट राइट्स फर चिल्ड्रेन’का संस्थापक भुवन रिभुले अघि सारेका थिए।
सन् २०२६ मार्चमा आयोजित ‘महिलाको स्थितिसम्बन्धी आयोग’ को बैठकमा उनले सरकार, नागरिक समाज, धार्मिक नेता, विद्यालय र समुदायलाई एकीकृत रूपमा जवाफदेही बनाउन यो दिवसका लागि उनले निरन्तर पैरवी गर्दै आएका थिए। १९३ सदस्य राष्ट्रहरू रहेको संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट प्रस्ताव पारित हुनुले बालविवाहलाई एउटा अपराध र बाल यौन दुर्व्यवहारको रूप मान्ने अन्तर्राष्ट्रिय मान्यतालाई थप सुदृढ बनाएको जेआरसिएनको बुझाइ छ।
‘आजको दिनले बालविवाहजस्तो अपराधको अन्त्य अपरिहार्य र निकट छ भन्ने देखाउँछ। अब विश्वका हरेक सरकारहरूले सन् २०३० सम्ममा बालविवाह अन्त्य गरी प्रत्येक बालबालिकाको शिक्षा, सुरक्षा र विकास सुनिश्चित गर्न निर्णायक नेतृत्व लिने समय आएको छ’ प्रस्ताव पारित भएपछि संयुक्त राष्ट्रसङ्घमै रहेका जस्ट राइट्सका संस्थापक भुवन ऋभूले भनेका छन् ‘यस अभियानको नेतृत्व गरेकी सिएरा लियोनका प्रथम महिला र उक्त प्रस्तावलाई समर्थन गर्ने सबै राष्ट्रहरूप्रति म आभार व्यक्त गर्दछु।”
त्यस्तै जेआरसिएनका संरक्षणक एंव लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यो अभियानलाई विश्वव्यापीरुपमा स्थापित गराउनका लागि राष्ट्रसंघको यो घोषणा निकै ऐतिहासिक र निर्णायक भएको बताएका छन्।
‘नोभेम्बर २७ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरिनु विश्वभरका बालबालिकाका लागि एक महत्त्वपूर्ण कदम हो। यस मुद्दालाई विश्वव्यापी ध्यान आकर्षण गराउन योगदान पुर्याउनुभएकोमा भुवन ऋभूलाई बधाई तथा धन्यवाद दिन चाहन्छु’ उनले भनेका छन् ‘संयुक्त राष्ट्रसङ्घको यो मान्यताले नेपाल, भारत र सम्पूर्ण क्षेत्रमा बालविवाह विरुद्ध भइरहेका हाम्रा संयुक्त प्रयासहरूलाई नयाँ ऊर्जा प्रदान गरेको छ।’
प्रतिक्रिया दिनुहोस