after_navbar

३ वर्षीया बालिका हत्या प्रकरण: १० प्रतिवादी रिहा


५ घण्टा अगाडि


सिमरा,२६ भदौ । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका जीतपुरसिमरा उपमहानगरपालिका-१ का प्रोग्रेश (पुरग्रेश) चौधरीसहित १० जना प्रतिवादीलाई बारा जिल्ला अदालतले रिहा गरेको छ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। अदालतको आदेशसँगै उनीहरू बिहीबार साँझ रिहा भएका छन्।

रिहा हुनेमा प्रोग्रेशका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता तथा सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन्। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको अदालतको आदेशमा उल्लेख छ।

बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो।

यसअघि सोही घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई भने अदालतले बाल सुधारगृहमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो। बुधबार न्यायाधीश अधिकारीको इजलासले दुवै नाबालकलाई बाल सुधारगृह पठाउने आदेश दिएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। आदेशपछि उनीहरूलाई वीरगन्जस्थित बाल सुधारगृह पठाइएको छ।

बाल सुधारगृह पठाइएका दुईमध्ये एक नाबालकले अनुसन्धानका क्रममा घटना आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

बालिकाको शव भेटिएकै दिन पक्राउ परेका ती नाबालकले चकलेट खुवाएर बालिकामाथि बलात्कार गरी हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ। उनको बयान घटनास्थल र शवको अवस्थासँग मिल्दोजुल्दो देखिएपछि प्रहरीले घटनामा उनको संलग्नता रहेको निष्कर्ष निकालेको थियो।

अनुसन्धानका क्रममा ती नाबालकले घटनामा अर्का एक साथीको समेत संलग्नता रहेको बयान दिएको भिडियो सार्वजनिक भएको थियो। प्रादेशिक अस्पताल कलैयाको ओसीएमसी कक्षमा चिकित्सकसँग कुराकानी गरिरहेको उक्त भिडियो प्रहरी हवल्दार कुमार विकले बाहिर ल्याएको प्रहरीको भनाइ छ।

भिडियो सामाजिक सञ्जालमा फैलिएपछि जिल्ला प्रहरी कार्यालय बाराले हवल्दार विकलाई नियन्त्रणमा लिई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

भिडियो सार्वजनिक हुनुअघि नै प्रहरीले जीतपुरसिमरा-२ का अर्का नाबालकलाई पक्राउ गरिसकेको थियो। उनले भने घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका छन्। अदालतले दुवै नाबालकलाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म बाल सुधारगृहमा राख्ने आदेश दिएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका भदौ २ गते घरनजिकैको खाली घरमा बलात्कारपछि हत्या गरिएको अवस्थामा मृत फेला परेकी थिइन्। साउन ३१ गतेदेखि हराएकी बालिकाको शव घरदेखि करिब एक सय मिटर दक्षिणतर्फ भेटिएपछि स्थानीयवासी तथा परिवार आन्दोलनमा उत्रिएका थिए।

घटनालाई लिएर देशभर प्रदर्शनसमेत भएका थिए। भदौ ६ गते गृह मन्त्रालयमा गृहमन्त्री, कानुनमन्त्री र प्रहरी महानिरीक्षकसहित सरकारी टोली तथा बालिकाका बुबा मनोज र आमा मानमतीबीच वार्ता भएको थियो। वार्तामा तीनबुँदे सहमति भएपछि बालिकाको भदौ ७ गते कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="