after_navbar

क्षतिग्रस्त जलविद्युत आयोजनाका लागि विशेष प्याकेज ल्याउन घिसिङको माग


२१ घण्टा अगाडि


काठमाडौ,२७ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढीबाट क्षतिग्रस्त भोटेकोशी-त्रिशूली करिडोरका जलविद्युत आयोजनाका लगानीकर्तालाई प्रोत्साहन गर्न सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले बाढीबाट निजी क्षेत्रका जलविद्युत आयोजनामा ठूलो क्षति पुगेकाले लगानीकर्ताको मनोबल बढाउन सरकारले नीतिगत, भन्सार छुट तथा विभिन्न सहुलियतसहितको विशेष प्याकेज ल्याउनुपर्ने बताएका हुन्।

उनले यस विषयमा आफूले प्रधानमन्त्रीसँग भेटेरै कुरा राखिसकेको जानकारी दिए। भोटेकोशी-त्रिशूली करिडोरका आयोजनालाई पुनः सञ्चालनमा ल्याउन सरकारले आवश्यक सहुलियत र सहयोगको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

‘लगानीकर्ताको मनोबल बढाउनका लागि पनि सरकारले भोटेकोशी-त्रिशूली करिडोरमा एउटा विशेष प्याकेज घोषणा गर्नुपर्छ,’ घिसिङले भने, ‘यसका लागि नीतिगत, भन्सार र सहुलियतका विषयमा केके दिन सकिन्छ, सरकारले हेर्नुपर्छ।’

घिसिङले विपद्का समयमा जलविद्युत आयोजनाको उद्धार तथा पुनःस्थापनामा ऊर्जा मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि बताए। ऊर्जा मन्त्रालयले केही नगरेको आरोप आफूले नलगाएको स्पष्ट पार्दै उनले अपेक्षाअनुसारको पहल भए नभएको विषयमा भने प्रश्न रहेको बताए।

‘ऊर्जा मन्त्रालयले यो विपद्मा केही गरेको छैन भनेर मैले भनेको छैन,’ उनले भने, ‘तर ऊर्जा मन्त्रालयले त्यति ठूलो इनिसिएटिभ गरेको मलाई चाहिँ लागेको छैन।’

विपद्का बेला मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिकाबारे समीक्षा आवश्यक रहेको घिसिङको भनाइ छ। जलविद्युत आयोजनाको उद्धारदेखि पुनःस्थापनासम्म मन्त्रालयले अझ प्रभावकारी नेतृत्व लिनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="