दाङ। नेपाल लेखापढी व्यवसायी एसोसिएसन इकाइ समिति तुलसीपुरको १२औँ वार्षिक साधारणसभा शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ।
इकाइ अध्यक्ष विनोद न्यौपानेको अध्यक्षता तथा मालपोत कार्यालय तुलसीपुरका प्रमुख शान्त राज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी लेखापढी व्यवसायीले आफूहरूको पेशालाई मर्यादित र व्यवस्थित बनाउन राज्यले ध्यान दिनुपर्ने बताएका थिए।
नेपाल लेखापढी व्यवसायी एसोसिएसन लुम्बिनी प्रदेश संयोजक हरिलाल पौडेलले जेन्जी आन्दोलनपछि प्रभावित भएका इकाइ समितिलाई पुनः व्यवस्थित गर्ने काम भइरहेको बताए। स्थानीय तहमा मालपोत कार्यालय लैजाने विषयले व्यवसायीमा अन्योल सिर्जना भएको उनले उल्लेख गरे।
मालपोत कार्यालय तुलसीपुरका प्रमुख गौतमले कार्यालयमा पर्याप्त स्रोतसाधन र जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताए। सेवाग्राहीलाई छिटोछरितो र गुनासोरहित सेवा दिन कार्यालयले सुधारका प्रयास गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा अधिवक्ता वसन्त केसीलगायतले पनि लेखापढी व्यवसायीका समस्या र पेशालाई व्यवस्थित बनाउने विषयमा धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण सचिव तिलकराम शर्मा र स्वागत मन्तव्य सल्लाहकार सेवकराम आचार्यले गरेका थिए।
प्रतिक्रिया दिनुहोस