after_navbar

चाडपर्वमा यातायात सहज र सुरक्षित बनाउन सरकारलाई निर्देशन


२ घण्टा अगाडि


काठमाडौ। दशैँ, तिहार र छठमा सार्वजनिक यातायातलाई सहज र सुरक्षित बनाउन प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकले यात्रुले भोग्ने समस्या, टिकटमा हुने ठगी र दुर्घटनाको जोखिम कम गर्न आवश्यक योजना बनाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढीपहिरोका कारण बन्द भएका मुख्य सडक दशैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए। पृथ्वी राजमार्ग २४ घण्टाभित्र र बीपी राजमार्ग दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले जानकारी दिए।

समितिका सभापति आशिष गजुरेलले यात्रुलाई दुःख दिने वा असुरक्षित यात्रा गराउने काम भए सम्बन्धित निकायमाथि कारबाही गरिने बताए। सांसदहरूले बसपार्कबाहिर जथाभावी यात्रु चढाउने काम रोक्न र काठमाडौँका मुख्य सडकको ट्राफिक व्यवस्थापन सुधार गर्नुपर्ने बताएका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य नबढेसम्म चाडपर्वमा यातायात भाडा नबढाउने बताए।

प्रहरी नायब महानिरीक्षक सुनिलजङ्ग शाहले यात्रु ठगी रोक्न प्रमुख नाकामा ‘यात्रु सहायता कक्ष’ राखिने बताए। उनका अनुसार कलङ्की-नागढुङ्गा सडकखण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस

data-href="