after_navbar

लुम्बिनीमा चार दिनमा ७८ वटा विपद्का घटना: ६ जनाको मृत्यु


२ घण्टा अगाडि


दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार दिनमा ७८ वटा विपद्का घटना भएका छन्। प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद्का घटनामा परी ६ जनाको मृत्यु र एक जना घाइते भएका छन्।

विपद्का कारण १ हजार २८० जना सुरक्षित स्थानमा सारिएका छन्। यस अवधिमा २७ वटा घर पूर्ण रूपमा र ५६ वटा घर आंशिक रूपमा क्षति भएका छन्। १६ घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन्।

सबैभन्दा बढी ३१ वटा पहिरोका घटना भएका छन्। पहिरोमा परी पाँच जनाको मृत्यु र एक जना घाइते भएका छन् भने ४८० जना विस्थापित भएका छन्। यस्तै, डुबानका २६ घटनामा ७७८ जना प्रभावित भएका छन्। हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका छन्।

जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना भएका छन्। बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन्। मानवीय क्षतितर्फ पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ।

विस्थापनतर्फ नवलपरासीमा ७०० जना, गुल्मीमा २९८ जना र अर्घाखाँचीमा १७१ जना प्रभावित भएका छन्। विपद्का कारण प्रदेशभर करिब ४० लाख १७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको केन्द्रले जनाएको छ। दाङमा मात्रै २२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

विपद्का कारण गोठ, पशु चौपाया, पुल, विद्यालय, उद्योग, सरकारी कार्यालय र सवारीसाधनमा समेत क्षति पुगेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="