after_navbar

दाङ टेक्निकल इन्स्टिच्युटमा स्वागत तथा बिदाइ


१३ घण्टा अगाडि


दाङ । दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल इन्स्टिच्युट प्रालिले सामान्य चिकित्सा विषयमा पहिलो वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा तेस्रो वर्षको अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरेको छ।

शनिबार आयोजित कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लुम्बिनी प्रदेशका उपनिर्देशक यादव सुवेदीले सीपमूलक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताए । उनले विदेश जाने सोचमा मात्र सीमित नभई स्वदेशमै उपलब्ध सम्भावना खोज्न र आफूले सिकेको सीप तथा दक्षताको उपयोग गर्न विद्यार्थीलाई आग्रह गरे।

इन्स्टिच्युटका अध्यक्ष दोर्ण वलीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर सिटी हस्पिटल प्रालिका अध्यक्ष बिमल रिजालले सही र गलत छुट्याउन सक्ने क्षमता विकास गर्नुपर्ने बताए। समय र परिस्थितिअनुसार आफूलाई परिमार्जन गर्दै अघि बढ्न सके मात्र सफल हुन सकिने उनको भनाइ थियो।

राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका अध्यक्ष हरिप्रसाद रिजालले स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले यसमा कार्यरत जनशक्ति जिम्मेवार र अनुशासित हुनुपर्ने बताए। उनले पारिवारिक संस्कारलाई व्यवहारमा उतार्दै समयको महत्त्व बुझेर काम गर्न विद्यार्थीलाई सुझाव दिए।

तुलसीपुर सिटी हस्पिटलका प्रबन्ध निर्देशक हेमराज बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै अध्ययनसँगै व्यावहारिक सीप र ज्ञान हासिल गर्न विद्यार्थीलाई आग्रह गरे।

कार्यक्रममा इन्स्टिच्युटमा सामान्य चिकित्सा तेस्रो वर्षमा अध्ययनरत छात्रा चेतना वलीले शैक्षिक सिकाइका दृष्टिले इन्स्टिच्युट उत्कृष्ट रहेको बताइन्।

कार्यक्रममा विद्यार्थीले गीत, साहित्यिक रचना तथा विभिन्न भेषभूषा र संस्कृतिको झल्को दिने नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण प्रधानाध्यापक अशोककुमार यादव र सामान्य चिकित्सा दोस्रो वर्षमा अध्ययनरत छात्रा विधिका वलीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

data-href="