after_navbar

औषधि पसलबाटै लागुऔषध कारोबार


१ घण्टा अगाडि


कास्की। पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागुऔषधको कारोबार हुने गरेको खुलेको छ। पोखरा महानगरपालिका-२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषधका चक्की बरामद भएपछि यस्तो कारोबार सार्वजनिक भएको हो।

औषधि पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्कीसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा बुधबार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पसलमा जाँच गरेको थियो।

जाँचका क्रममा सञ्चालिका ढुङ्गानाको साथबाट कोडिप-पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद चक्कीको कुल सङ्ख्या ७ हजार १६० छ।

प्रहरी नायब उपरीक्षक पासवानले लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको बताए। औषधि बिक्री तथा वितरणका लागि सञ्चालित फार्मेसीबाटै यति ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगसम्बन्धी नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको उनले बताए।

पक्राउ परेकी सञ्चालिकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाट लागुऔषधको कारोबार हुने गरेको भेटिएको थियो। त्यस्ता घटनामा प्रहरीले औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="