after_navbar

सामुहिक बलात्कारको आरोपमा तीन युवकको खोजी


२ घण्टा अगाडि


सप्तरी । सप्तरीमा एक महिलामाथी सामुहिक बलात्कार भएको छ । जिल्लाको सुरूङ्गा नगरपालिका–९ टिकुलियामा २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ।

सिरहा घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन्। गत बुधबार दुर्गा पूजाको मूर्ति विसर्जनका लागि गाउँको पश्चिमतर्फ रहेको बलान नदी पुगेकी उनी मूर्ति विसर्जनपछि ट्याक्टरमा फर्किंदै थिइन्। बाटोमा ट्याक्टरको डिजेल सकिएर रोकिएपछि उनी एक्लै पैदल घरतर्फ जाने क्रममा घटना भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

प्रहरीका अनुसार बाटोछेउमा बसेका तीन जना युवकले महिलालाई नियन्त्रणमा लिई मुख थुनेर नजिकैको आँपको बगैँचामा लगेको र जबर्जस्ती करणी गरेको आरोप छ। त्यसपछि उनीहरूले महिलालाई बेहोस अवस्थामा छाडेर फरार भएको पीडितले बताएकी छन्।

अबेरसम्म घर नफर्किएपछि खोजीमा निस्किएका आफन्त र स्थानीयवासीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए।

पीडित परिवारले घटनापछि गाउँका केही अगुवाले घटना सामसुम पार्न विभिन्न प्रलोभन दिएको आरोपसमेत लगाएको छ। घटनामा गाउँकै तीन जना युवक संलग्न रहेको आरोप छ। उनीहरूमध्ये एक जना १९ वर्षका र अन्य दुई जना २१ वर्षभन्दा कम उमेरका रहेको बताइएको छ।

पीडितले घटनाबारे बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="