after_navbar

अब अर्को जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि लिन पाइने


२ घण्टा अगाडि


दाङ । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ।

गृह मन्त्रालयले जारी गरेको नयाँ नियमावलीअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन्। त्यसका लागि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेस गर्नुपर्नेछ।

सम्बन्धित व्यक्तिको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणाली र जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग रुजु गरेपछि प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था गरिएको छ।

नागरिकता प्रमाणपत्र हराएमा, च्यातिएर प्रयोग गर्न नमिल्ने भएमा, आगलागी वा पानीका कारण नष्ट भएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचाको नागरिकता आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ। यसअघि नागरिकताको प्रतिलिपि लिन सम्बन्धित जिल्लाकै प्रशासन कार्यालय पुग्नुपर्ने व्यवस्था थियो।

नयाँ नियमावलीले विवाहअघि नागरिकता नलिएकी नेपाली महिलाका लागि पनि नागरिकता प्राप्त गर्ने प्रक्रियाबारे व्यवस्था गरेको छ। नेपाली नागरिकसँग विवाह गरेकी महिलाले पतिको ठेगानाबाट नागरिकता लिन चाहेमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता पेस गर्नुपर्नेछ।

पतिको मृत्यु भइसकेको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ। यस्तो अवस्थामा पति वा सासू, ससुरा, जेठाजु, देवर, छोरा वा छोरीमध्ये कम्तीमा एक जना उपस्थित भई सनाखत गर्नुपर्ने व्यवस्था गरिएको छ।

नियमावलीले नागरिकता वितरणको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था पनि गरेको छ। नागरिकताका लागि निवेदकले पेस गरेका विवरण तथा कागजात नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अभिलेख गर्नुपर्नेछ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणको मासिक विवरण गृह मन्त्रालयमा पठाउनुपर्नेछ। नागरिकता नम्बरलाई व्यवस्थित बनाउन जिल्लागत तथा कार्यालयगत कोड, जारी वर्ष र क्रमसङ्ख्याका आधारमा नम्बर कायम गर्ने व्यवस्था पनि नयाँ नियमावलीमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="