after_navbar

राप्ती ड्राइभिङ स्कुल संघको अध्यक्षमा पुनः बुढाथोकी


२० घण्टा अगाडि


दाङ । राप्ती ड्राइभिङ स्कुल संघको दोस्रो साधारणसभाले झक्कुप्रसाद बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा दोर्णबहादुर केसी, सचिवमा सुदर्शन बस्याल, सहसचिवमा दीपक पाण्डे र कोषाध्यक्षमा बालाराम खड्का, सह-कोषाध्यक्षमा ललित खड्का चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हेमराज कवर, मोतीराम श्रेष्ठ, भीमबहादुर केसी, सीताराम रेग्मी र मनबहादुर पुन मगर चयन भएका छन्।

संघका अध्यक्ष बुढाथोकीको अध्यक्षता तथा यातायात व्यवस्था कार्यालय दाङका कायममुकायम प्रमुख ताराप्रसाद शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि शर्माले ड्राइभिङ स्कुलहरूले श्रमजीवी वर्गलाई रोजगारीको अवसर दिनुका साथै दक्ष चालक जनशक्ति उत्पादन गर्दै आएको बताए। ड्राइभिङ स्कुल र यातायात व्यवस्था कार्यालयबीच नङ र मासुको सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुवै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। ड्राइभिङ सेन्टरहरू विधिसम्मत रूपमा दर्ता गरेर सञ्चालन गरेमा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध हुने उनको भनाइ थियो।

कार्यक्रममा ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय सल्लाहकार लालचन्द्र बन्जाडेले सबै व्यवसायी एउटै सूत्रमा बाँधिएर अघि बढ्नुपर्ने बताए। व्यवसायीहरू एकअर्काका परिपूरक बनेर काम गर्न सके दक्ष चालक उत्पादन र रोजगारी सिर्जना गर्न सकिने उनले उल्लेख गरे। साथै, दर्ता भएका तथा मनपरी रूपमा सञ्चालन भइरहेका ड्राइभिङ सेन्टरको अनुगमन र नियमन गरी आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, संघका लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिराज लहरे (अरुण)ले ड्राइभिङ स्कुलप्रतिको दृष्टिकोण बदल्नुपर्ने बताए। व्यवसायीका चुनौती समाधान गर्न एकजुट भएर अघि बढ्नुपर्ने र सबै ड्राइभिङ सेन्टरलाई नियमनको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका सई सम्भु धितालले सवारी दुर्घटना न्यूनीकरण र दक्ष चालक उत्पादनमा ड्राइभिङ स्कुलहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। सवारी चलाउने तरिका र ट्राफिक संकेतबारे प्रशिक्षण दिन यस्ता संस्थाले निरन्तर सहयोग गर्नुपर्ने उनले उल्लेख गरे। कार्यक्रमको स्वागत उपाध्यक्ष दोर्ण बहादुर केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="