दाङ। नेपालगञ्ज रंगशालामा आज शनिबारदेखि तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालगञ्ज स्वीमिङ क्लबले नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा भारतबाट करिब ५० र बाँकेसहित देशका विभिन्न स्थानबाट करिब १५० गरी झन्डै २०० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा अन्डर-८ देखि अन्डर-१७ उमेर समूह तथा १७ वर्षभन्दा माथिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
खेलाडीबीच फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत विधामा गरी ८० इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुन भारतसहित देशका विभिन्न स्थानबाट खेलाडी नेपालगञ्ज आउने क्रम सुरु भएको क्लबका अध्यक्ष केशव न्यौपानेले बताए।
क्लबले स्थापनाकालदेखि नियमित रूपमा राष्ट्रियस्तरका स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ। पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्लबले तेस्रो संस्करण कात्तिक १४ र १५ गते नेपालगञ्ज रंगशालामा आयोजना गर्न लागेको हो।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको नेपाल स्वीमिङ एसोसिएसनका प्राविधिक निर्देशक विष्णु खड्काले जानकारी दिए। प्रतियोगितामा सहभागी खेलाडीलाई आयोजकले खेल अवधिभर नेपालगञ्जका स्वीमिङ पुलसहितका चारतारे होटलमा निःशुल्क बसोबास र खानाको व्यवस्था गर्ने जनाएको छ।
स्वीमिङ खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जका उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको पहलमा क्लब गठन गरिएको हो। आयोजकका अनुसार यो लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो।
प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। च्याम्पियनसिपको टाइटल स्पोन्सर नबिल बैंक रहेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने भएका छन्।
त्यस्तै, नेपाल टेलिकम, बीवाईडी, बेस्टन हस्पिटल, शिखर प्लाइ, डर्मा अर्थ तथा स्टार पाइप एन्ड फिटिङ प्रायोजकका रूपमा रहेका छन्। विद्यालय साझेदारका रूपमा शिखा एकेडेमी, ब्राइटल्यान्ड, सोफिया, आदर्श र बागेश्वरी एकेडेमी रहेका छन्।
प्रतिक्रिया दिनुहोस