after_navbar

कोइलाबास भन्सारको राजस्व लक्ष्यभन्दा ८.१४ प्रतिशत कम


१२ घण्टा अगाडि


दाङ । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्धारित लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन। साउनदेखि असोजसम्म ४४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ४१ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ। यो लक्ष्यको ९१.८६ प्रतिशत हो।

भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार नेपाल-भारत सीमामा आवतजावत घटेसँगै भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्वमा कमी आएको हो।

कार्यालयको तथ्याङ्कअनुसार साउनमा १३ लाख रुपैयाँको लक्ष्यमा ११ लाख, भदौमा १४ लाख ८९ हजारको लक्ष्यमा आठ लाख ४० हजार र असोजमा १६ लाखको लक्ष्यमा आठ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस अवधिमा मुद्दा लिलामीबाट थप १३ लाख रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ।

कोइलाबास भन्सारको मुख्य आम्दानीको स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी हो। भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक ६०० रुपैयाँ र मोटरसाइकलबाट २०० रुपैयाँ राजस्व लिने गरिएको छ।

कोइलाबासको रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी र दाङको चौघेरा मन्दिरमा दर्शन तथा घुमफिरका लागि आउने भारतीय नागरिकका सवारीसाधनबाट समेत राजस्व सङ्कलन हुने गरेको प्रमुख विष्टले बताए।

व्यापारिक गतिविधि न्यून हुँदा पनि भन्सारको आम्दानी प्रभावित भएको उनको भनाइ छ। दाङ, रोल्पा र प्युठानबाट दूरीका हिसाबले कोइलाबास नाका सहज भए पनि व्यापारीको आकर्षण बढ्न सकेको छैन।

सडक सञ्जालमा सुधार भए पनि पर्याप्त भन्सार पूर्वाधार, सरकारी पहल र व्यापार विस्तारको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीहरूको भनाइ छ। सीमा आवतजावतमा कडाइ र विदेशी पर्यटकको न्यून उपस्थितिले पनि राजस्व सङ्कलनमा असर पारेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="