दाङ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी घोराहीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट ४९ लाख ६८ हजार ४०० रुपैयाँभन्दा बढीको नुन र चिनी बिक्री भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय घोराहीले असोज १ देखि कात्तिक २० गतेसम्म सञ्चालन गरेको पसलबाट आठ हजार ७६१ जना उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद गरेका हुन्।
शाखा प्रमुख रामबाबुप्रसाद गुप्ताका अनुसार उक्त अवधिमा ४३ हजार ३०० किलो चिनी र २६ हजार ६०० किलो नुन बिक्री भएको छ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँ र नुन २४ रुपैयाँमा उपलब्ध गराइएको थियो। बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो ४० रुपैयाँ र नुनमा ६ रुपैयाँ सस्तोमा बिक्री गरिएको गुप्ताले जानकारी दिए।
बजारमा चिनी प्रतिकिलो १४० रुपैयाँ र नुन ३० रुपैयाँ पर्ने भएकाले सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्तालाई चाडपर्वको समयमा आर्थिक राहत पुगेको छ।
प्रतिक्रिया दिनुहोस