पर्सा, २७ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ हनुमाननगरमा रहेको डेढु खोलामा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा मनोजय कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन्।
वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, मंगलबार बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घरबाट करिब १५० मिटर टाढा रहेको ढेडु खोलामा नुहाउन गएका थिए। खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउन गएका उनीहरू त्यही खाल्डोमै डुबेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, दुवै बालक पानीमा तैरिरहेको अवस्थामा फेला परेपछि स्थानीयले तत्काल उद्धार गरी ठोरीस्थित अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुवै बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
घटनापछि स्थानीय समुदाय शोकमा डुबेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस