काठमाडौँ,९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न मानव अधिकारसम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अध्यक्ष विजयराज गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा निर्वाचनमा संलग्न सबै सरोकारवाला,राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा मतदातालाई आचारसंहिता अक्षरशः पालना गर्न आग्रह गरिएको छ ।
“स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी, सहकार्य तथा नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ।”
सुरक्षा निकायलाई निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ भने सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ । त्यस्तै, मतदातालाई कुनै पनि किसिमको प्रलोभन, दबाब वा गलत सूचनाबाट प्रभावित नहुन र आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न अपिल गरिएको छ ।
“निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचन प्रक्रियामा हुने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरुपयोग, घृणात्मक अभिव्यक्ति, गलत सूचना तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँछ।” यस्ता गतिविधि रोक्न निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबैका लागि बाध्यकारी हुनुपर्नेमा जोड दिइएको छ ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले राजनीतिक दल र उम्मेदवारलाई शान्तिपूर्ण, मर्यादित र मुद्दा–केन्द्रित चुनावी प्रतिस्पर्धा गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा अझ प्रभावकारी भूमिका खेल्न तथा उल्लङ्घनका घटनामा निष्पक्ष र कडाइका साथ कारबाही गर्न अनुरोध गरेको छ ।
मनोनयन प्रक्रियामा देखिएको उत्साह र जनसहभागिता प्रशंसनीय भए पनि केही स्थानमा देखिएको तडकभडक र उत्तेजक गतिविधि आचारसंहिताविपरीत रहेको उल्लेख गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस