after_navbar

भारतीय नागरिकलाई नागरिकता दिने दाङका जनप्रतिनिधि र प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


माघ १३, २०८२


दाङ,१२ माघ । भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिएको आरोपमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएकामध्ये इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख शाखा अधिकृत खवास, राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, सोही वडाका तत्कालीन वडा सचिव राजेश कुमार कहार र कार्यालय सहायक मिना चौधरी रहेका छन्।
त्यसैगरी भारतीय नागरिक आलम जोल्हा र आएसा जोल्हालाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार मिलेमतोमा बदनियत राखी नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली व्यक्ति आलम जोल्हालाई राजपुर गाउँपालिका–४ स्थायी ठेगाना भएका दिवंगत सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानुनी रूपमा नागरिकता दिलाइएको हो।

सनाउल्ला जोल्हाको १५ वैशाख ०३८ मै मृत्यु भइसकेको भए पनि १५ वैशाख ०४१ मा मृत्यु भएको भनी झुट्टा विवरण उल्लेख गरी मृत्युदर्ता प्रमाणपत्र तयार गरिएको अख्तियारको आरोप छ। साथै आलम जोल्हाको जन्म २५ फागुन ०३९ मा तत्कालीन राजपुर गाविस–३ दुलैयामा भएको भनी झुट्टा जन्मदर्ता प्रमाणपत्र बनाइएको पनि आरोपपत्रमा उल्लेख छ।

नागरिकता तथा जन्मदर्ताका लागि सिफारिस गरिएका व्यक्ति स्थानीय हुन् वा होइनन् भन्ने यकिन गर्नुपर्ने कानुनी दायित्व हुँदाहुँदै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले गैरकानुनी लाभ लिने उद्देश्यले सरकारी कागजातमा अनाधिकृत रूपमा केरमेट, सच्याउने तथा हेरफेर गरेको अख्तियारको दाबी छ।

प्रतिवादी आएसा जोल्हाले आलम जोल्हा आफ्नो सहोदर भाई भएको भनी झुट्टा सनाखत गरेको र सोही आधारमा वडाध्यक्ष रामेश्वर अहिरले सिफारिस गरेको पनि उल्लेख गरिएको छ।

त्यही सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासले स्थानीय प्रहरीमार्फत् आवश्यक यकिन नगरी, पेस गरिएका कागजातको चेकजाँचसमेत नगरी, झुट्टा कागजातहरू जानीबुझी स्वीकार गरी २८ मंसिर ०७५ मा आलम जोल्हालाई बंशजको आधारमा नागरिकता दिएको अख्तियारको दाबी छ।

प्रतिक्रिया दिनुहोस

data-href="