काठमाडौँ,४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्म निर्वाचन आयोग नेपालमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्।
आयोगले फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो। हालसम्म २८ वटा दलले सार्वजनिक रूपमा घोषणापत्र वा प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन्।
घोषणापत्र सार्वजनिक गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन्।
आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दलहरूले तोकिएको मितिमा घोषणापत्र सार्वजनिक गर्नुपर्ने कानुनी दायित्व रहेको बताए। निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूले आफ्ना योजना, कार्यक्रम, विकास निर्माण, सुशासन र मुलुकको अग्रगामी निकासका विषय समेटिएको घोषणापत्र वा प्रतिबद्धता पत्र आयोगमा पेस गर्नुपर्ने उनले स्पष्ट पारे।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार केन्द्रमा चार दलको मात्रै घोषणापत्र दर्ता भएको तथ्याङ्क छ। केही दलले जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र बुझाएको जानकारी आए पनि केन्द्रमा तोकिएको समयसीमाभित्र चार दलले मात्रै पेस गरेका हुन्। आइतबार सार्वजनिक बिदा परेकाले अधिकांश दलले सोमबार दिनभरिमा घोषणापत्र बुझाउने सम्भावना रहेको उनले बताए।
आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचार–प्रसार गर्न पाइने व्यवस्था गरेको छ। फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न पाइने छैन। साथै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न दल तथा उम्मेदवारलाई आयोगले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस