काठमाडौ,२६ साउन। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका८ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय करण ऐर, बुढानिलकण्ठ नगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका–१२ बस्ने ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ बस्ने ३६ वर्षीय प्रेम पुरी, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४२ वर्षीय अच्युत दुलाल र कालिकोटको खाँडाचक्र नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३५ वर्षीय बिर्खबहादुर विक रहेका छन्।
प्रहरीका अनुसार करणले क्रोएसिया पठाइदिने भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ, सुनिताले युरोप पठाइदिने भन्दै एक जनाबाट ३ लाख ५० हजार रुपैयाँ, प्रेमले जापान पठाइदिने भन्दै ११४ जना पीडितबाट २ करोड २५ लाख रुपैयाँ, अच्युतले क्यानडा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ र बिर्खबहादुरले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ लिएका थिए।
रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले करण र सुनितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार, अच्युतलाई गोकर्णेश्वर नगरपालिका-७ बाट आइतबार, बिर्खबहादुरलाई काठमाडौं महानगरपालिका-१६ बाट शनिबार र प्रेमलाई काठमाडौं महानगरपालिका-३ बाट शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस