after_navbar

तुलसीपुरमा गठामंगल पर्व मनाइयो


७ घण्टा अगाडि


दाङ,२६ साउन । तुलसीपुरमा परम्परागत विधिअनुसार गठामंगल पर्व मनाइएको छ। नेवार समुदायको प्राचीन सांस्कृतिक तथा धार्मिक पर्व गठामङ्गल अर्थात् घण्टाकर्ण मंगलबार तुलसीपुरमा परम्परागत विधिअनुसार मनाइएको छ।

नेवा देय दवु तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुरको वीरेन्द्रचोकमा विभिन्न सांस्कृतिक गतिविधिसहित पर्व मनाइएको हो।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गललाई नेवार समुदायले वर्षभर मनाउने चाडपर्वमध्ये पुरानो पर्वका रूपमा लिने गर्छन्। यस पर्वलाई कतिपय ठाउँमा गठेमङ्गल र घण्टाकर्ण पनि भनिन्छ।

परम्पराअनुसार बिहान हरियो नर्कट, निगालो, गहुँको छ्वालीलगायत सामग्री प्रयोग गरी तीनखुट्टे राक्षसको आकृति बनाएर दोबाटो वा चौबाटोमा राख्ने गरिन्छ। साँझ उक्त आकृतिलाई बाजागाजासहित तानेर लगेर जलाउने परम्परा छ।

लोकविश्वासअनुसार गठामङ्गल नाम गरेको राक्षसले मानिसलाई दुःख दिने गरेको र पछि उसको वध गरिएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। राक्षसको प्रतीक जलाउँदा समाजमा रहेका नकारात्मक शक्ति, रोग, भय तथा अनिष्ट हट्ने विश्वास गरिन्छ।

गठामङ्गल कृषि संस्कृतिसँग पनि जोडिएको छ। कतिपय स्थानमा राक्षसको आकृति खेतमा लगेर जलाउने र यसबाट खेतबारीमा लाग्ने कीरा तथा अनिष्ट हटेर अन्नबाली राम्रो हुने जनविश्वास रहेको छ।

यस दिन बिहान स्नान गरी पूजापाठ गर्ने, घरआँगन सफा गर्ने तथा नकारात्मक शक्ति हटाउने परम्परा पनि छ। बालबालिकाले बाटोमा डोरी टाँगेर बाटो हिँड्ने मानिससँग ‘जगात्’ माग्ने चलनसमेत यस पर्वको विशेष आकर्षण मानिन्छ।

नेवार समुदायमा नवविवाहित जोडीका लागि घण्टाकर्णको पूजा तथा दर्शनको विशेष महत्व रहेको मानिन्छ। पूजा गर्दा दाम्पत्य जीवनमा आउने बाधा हट्ने, परिवारमा सुख–शान्ति कायम हुने तथा रोगव्याधि र अनिष्टबाट सुरक्षा मिल्ने जनविश्वास छ।

आधुनिक जीवनशैली र प्रविधिको प्रभावसँगै मौलिक संस्कृति तथा परम्परा ओझेलमा पर्दै गएको अवस्थामा गठामङ्गलजस्ता पर्वको निरन्तरताले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न सहयोग गर्ने नेवार समुदायका अगुवाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

data-href="