दाङ,४ भदौ । दाङको राप्ती गाउँपालिका-१ माथिल्लो भालुवाङमा ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भालुवाङ-प्युठान सडकखण्डअन्तर्गत पेट्रोल पम्प नजिकै भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०१०८ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ईभी २२ वर्षीय लक्ष्मण पुनले चलाएका थिए भने स्कुटर अर्घाखाँचीको सितगंगा नगरपालिका-८ लापेका २० वर्षीय अभिषेक कुमालले चलाएका थिए।
दुर्घटनामा स्कुटरको पछाडि सवार सोही स्थानकी ३२ वर्षीया सम्झना केसी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
स्कुटर चालक अभिषेक कुमाल घाइते भएको जनाइएको छ। दुर्घटनामा संलग्न ईभी र स्कुटरसहित ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस