दाङका २२ वर्षीय युवाको काठमाडौंमा हत्या:दुई जना पक्राउ
५ घण्टा अगाडि
दाङ, ५ भदौ । दाङका एक युवाको काठमाडौंमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ। घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय बसन्त कालाथोकीको हत्या भएको हो।
काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका कालाथोकीमाथि होस्टलमै कुटपिट गरी धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा बारा कलैया-३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव संलग्न रहेको आरोप छ। उनीहरूले कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा कालाथोकीको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउँदा उनी अचेत अवस्थामा रहेको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने फरार रहेका प्रमित पटेललाई शुक्रबार मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस